घरमा बिहेको तयारी, छोराको शव आयो

४ जेठ, वीरगन्ज । 'यसपालि विवाह गर्छु। तपाइँ विवाहको तयारी गर्नुस्, म कार्यालयको काम सिध्याएर वैशाख २० गते घर आइपुग्छु भनेर छोरा काठमाडौंतिर लागे, म छोराको विवाहको तयारीमा जुटें, हेटौंडा नगरपालिका—१० की विमला लामा भक्कानिदै भनिन्—‘अहिले घरमा छोराको शव आयो । अब म कसरी बसुँ ।'


विमलाको छोरा सुमन भोम्जनको विनाशकारी भूकम्पमा परी ज्यान गएको थियो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभासद् तथा खेल पत्रकार सुमनको काठमाडौंको महाबौद्धमा डेरा गरी बसेको घरसँगै उनी पनि ढलेका थिए।


भूकम्प आए लगत्तै सम्पर्कविहीन भोम्जनको निरन्तर खोजिपछि उनकै डेरा महाबौद्धमा पुरिएको अवस्थामा सात दिनपछि शव फेला परेको हो । घरमा २९ वर्षीय छोराको शव आएपछि आमा सम्हालिन त्यति सजिलो छैन। छोराको तस्बिर छातिमा राखेर उनी सधैँ डाँको छाडेर रोइरहिन्छन्। उनलाई सम्हाल्न छरछिमेककी महिला र केही पत्रकार पनि आइरहन्छन् तर उनी दिनरात रोएरै बिताउँछिन् ।


चार वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत सुमन मेहनती मात्र थिएन्, मूल्यनिष्ट र व्यावसायिक पत्रकारिताको विकासका लागि जहिले पनि वकालत गर्न पछाडि पर्दैनथे । उनको मृत्युसँगै सिङ्गो पत्रकारिता अहिले शोक डुबेको छ।


नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले शनिबार पत्रकार सुमनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आयोजना गरेको शोकसभामा उनका बुबा सुरेन्द्रको आँखामा आँशुको भेल हेर्दा त्यहा“ उपस्थित सबै पत्रकारको आँखा रसाएका थिए ।


“कामको सिलसिलामा काठमाडौं गएको छोरा विवाहका लागि वैशाखमा त फर्केला भन्ने थियो, तर शव आयो,” उनले भने—“दैवी प्रकोपलाई कसले रोक्न सक्छ र भन्दै चित्त बुझाउने प्रयास गर्दैछु ।”


पत्रकारिता गर्दागर्दै विनाशकारी भूकम्पमा परेर काठमाडौं मा छोराको ज्यान गयो, यता हेटौंडा नगरपालिका—१० मा आफू बसेको घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेको छ, बबा सुरेन्द्र भोम्जनले भने—‘‘यस्तो विपद्का समयमा सरकारबाट उचित राहत र सहयोगको अपेक्षा गरेको छु ।’उनले आवश्यक राहत र सहयोगका लागि पहल गरिदिन पत्रकारलाई आग्रह समेत गरेका छन्। रासस

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment