जनताले सोधे–‘राहत कहिले पाइन्छ सरकार ?’, प्रधानमन्त्रीले भने–‘म सोध्छु है’

भूकम्प प्रभावित क्षेत्रमा एकसाथ उडे सुशील, केपी र प्रचण्ड 

नुवाकोट, वैशाख २३
प्रधानमन्त्री शुसिल कोइरालाले बर्खापछि घरवारबिहिन जनतालाई सरकारले घर बनाइदिने बताएका छन् । भूकम्पले निम्त्याएको क्षतिको अवस्था अवलोकन गर्न नुवाकोट आएका उनले अहिलेको विपत्तिमा सरकार शोकमा डुबेको बताउँदै भने ‘भोलि नै घर बन्छ भनेर झूटो बोल्नु त भएन । बर्खा लागिसक्यो, बर्खापछि घर बनाउन सरकार लागिपर्छ ।’


१२ गतेको विनासकारी महाभूकम्पले ध्वस्त बनाएको नुवाकोट, रसुवा र धादिङ जिल्लाको अवलोकन भ्रमणका क्रममा तीन दलका शीर्ष नेता र सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुख अधिकारीसहित नुवाकोटको अति प्रभावित क्षेत्रको अवलोकनमा आइपुगेका प्रधानमन्त्री कोइरालाले अहिलेको समस्या छिट्टै समाधान हुने आश्वासन दिए । एकिकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र तीनवटा सुरक्षा निकायका प्रमुखसँगै प्रधानमन्त्री एकसाथ हेलिकप्टर चढेर यहाँँ आइपुगेका हुन् ।


विदुरस्थित सैन्य तालिम केन्द्रमा आयोजित भेटघाटमा जिल्लाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दल तथा सभासद्, सरकारी निकायका प्रमुखहरु र पत्रकारहरुसामु सरकारको तत्कालिन योजना तथा कार्यक्रमबारे निर्देशन दिँदै उनले दलिय प्रभाव र पक्षपात नगरी विपत्तीमा परेका जनताको उद्धार र राहत वितरणमा लाग्न आग्रह गरे ।




प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र नेपाली सेनाको फष्र्ट रैफल गणका गणपति पवन खत्रीले जिल्लाका राहत, उद्धार र भूकम्पबाट भएको क्षतिको विस्तृत जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । त्यसलगत्तै प्रधानमन्त्री कोइरालाले क्षती बढी भएको ठाउँ र दुर्गम क्षेत्रलाई पहिलो प्राथमिता दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । ‘राहत प्रभावित जनतामा पुगेको छैन । आर्थिक सहायता तथा राहतको दुरुपयोग भइरहेको र बजारमा गएको भन्ने आरोप छ, त्यो हुन नपाओस्, कोइरालाले निर्देशन दिँदै भने, ‘विदेशी सहयोग, सरकारी राहत वास्तविक पिडित र गाउँलेहरुले उपभोग गर्न पाओस् ।’


यो निर्देशन दिएलगत्तै धादिङ जिल्लाको अवलोकनका लागि बाहिरिएका प्रधानमन्त्री कोइरालालाई पत्रकार र भूकम्पबाट प्रभावित केही जनताले सोधे, ‘सरकार ! राहत आयो भन्छन्,, खोई गाउँमा त राहत पुगेकै छैन । झन् उद्धार त आजसम्म भएकै छैन । कहिले हुन्छ उद्धार ?, कहिले आउँछ राहत सरकार ?’ यसपछि प्रधानमन्त्रीले जिज्ञासाको जवाफ दिदैं भने, ‘ठिक छ, म सोध्छु ।’ तर, आफैँ सरकार प्रमुख रहेका प्रधानमन्त्रीले यति सामान्य प्रश्नको जवाफ पनि कसलाई सोध्ने हुन्, त्यो भने खुलाउन चाहेनन् ।

प्रमुख सुरक्षा अधिकारीसहित भूकम्प प्रभावित क्षेत्रमा सँगै उडे सुशील, केपी र प्रचण्ड



भूकम्प प्रभावित जिल्लाको अवलोकन गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु एकसाथ हेलिकप्टरमा उडेका छन् । अवलोकन टोलीमा उनीहरुको साथमा तीनवटै सुरक्षा निकायका प्रमुखसमेत छन् । सधैँ राजनीतिक मुद्दामा फरक विचार राख्ने शीर्ष नेताहरुले राष्ट्रिय विपत्तिका बेला सँगै मिलेर समस्याको सामना गर्ने एकताको सन्देश दिएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड भूकम्प प्रभावित जिल्ला भ्रमणमा निस्किएका हुन् । प्रमुख दलका शीर्ष नेताहरुलाई लिएर नेपाली सेनाको हेलिकोप्टर बुधबार विहान रसुवा पुगेर नुवाकोट आई धादिङका लागि उडेको छ । जिल्ला भ्रमणको क्रममा नेताहरुले भूकम्प पीडितहरुको अवस्था, उद्धार र राहत वितरणबारे जानकारी लिने छन् ।

यस अघि प्रधानमन्त्री सुशील कोइरालाले गोर्खा र सिन्धुपाल्चोक जिल्लाको भ्रमण गरेका थिए भने एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका भूकम्प पीडितहरुलाई राहत वितरण गरेका थिए ।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment