एउटा पाल पाए बाँचिन्थ्यो कि !

काठमाडौं, वैशाख २३ 
महाभूकम्पले निम्त्याएको विपत्तिपछि राहत संकलन तथा वितरणमा अहोरात्र खटिरहेकी छु। यसक्रममा आइतबार सिन्धुपाल्चोकको सांगाचोक गाविसस्थित रानागाउँ पुग्दा मैले मन थाप्नै सकिनँ। 



मर्ने त मरिहाले बाँच्नेहरूलाई चोट पटक लागेको छ। अस्पताल जाने अवस्था छैन। चिकित्सक पुगेका छैनन्। औषधि पाइँदैन। हामी फर्किंदासम्म सो गाउँमा सरकारी रेस्क्यु टिम पुगेको थिएन। 

भूकम्पमा परी ज्यान गुमाएकाको लास गाउँलेले नै निकाले छन्। अझ रोजगारीका क्रममा अधिकांश युवा बिदेसिएकाले गाउँमा थप सकस भएको देखियो। पुरिएका गाईबस्तु, बाख्रा अझै निकाल्न सकेको छैनन। 

दुर्गन्ध फैलिन थालेको छ। न बस्ने ठाउँ छ न खाने। भत्किएका घरका काठढुंगा निकाल्ने, सामान सम्हाल्ने काम महिला, केटाकेटी, वृद्धवृद्धाले गर्न बाध्य भएका छन्।

भूकम्प गएको एक साता बितिसक्दा पनि राज्यको तर्फबाट राहतको कुनै प्याकेज त्यहाँ नपुगेको देख्दा अचम्म लाग्यो। हामीले ९८ घरधुरीलाई कपडा, चामल, पाल, औषधि, जीवनजल, पानी सफा गर्ने पीयूष, सरसफाइका लागि फिनेल वितरण ग:यौं। त्यहाँको अवस्था देखेपछि काठमाडौं फर्किएर पुन: राहत संकलन गरिरहेका छौं।

रोजगारीका लागि अधिकांश युवा बिदेसिएकाले रानागाउँमा थप सकस भएको छ। भूकम्पले भत्किएका घरका काठढुंगा निकाल्ने, सामान सम्हाल्ने काम महिला, केटाकेटी, वृद्धवृद्धा आफैं गर्न बाध्य छन्।

फेरि राहत सामग्री लिएर जाने योजना बनाएका छौं। 'खाना त जसोतसो टर्ला कम्तीमा एउटा पाल पाउन पाए बाँचिन्थ्यो' भनेर हारगुहार गरिरहेका छन्। उनीहरूको पीडा शब्दमा म भन्नै सक्दिनँ।

रानागाउँमा १० जनाले ज्यान गुमाएका रहेछन्। रोटरी क्लब अफ पाटन महाबौद्धकी अध्यक्ष विनिता प्रधान जोशी एवं समाजसेवी मानबहादुर बुढामगरको अगुवाइमा म, कलाकार मियुनकुमार जिरेललगायतको टोली आइतबार त्यहाँ पुगेका थियौं। हामीभन्दा अगाडि एउटा सामाजिक संस्थाले प्रतिघरधुरी पाँचपाँच किलो चामल दिएको रहेछ।

अधिकांश घर भत्केका छन्। माटो र ढुंगाबाट बनेको धेरैजसो घरको जगदेखि नै भत्किएका छन्। नढलेका घरमा पनि बस्ने अवस्था छैन। 

कोही नयाँ मान्छे वा गाडी देख्यो भने 'केही ल्याएको छ?' भनेर गाउँलेहरू झुमिन्छन्। यस्तो अवस्था कतिपय मुलुकमा भएको टेलिभिजनमा देखिन्थ्यो। अहिले आफ्नै देशमा देख्नुपर्‍यो।

कक्षा १२ सकेर बसेकी रानागाउँकी इन्दिरा रानामगरको पीडा सुन्दा अनायसै मेरा आँखा रसाए। त्यो दिन (वैशाख १२) बारीमा काम गरी खाना खान घर आएका बेला घरले किचेर उनको आमाबाबुको मृत्यु भएको रहेछ।

संयोगले खाना खान अलि ढिला गरेकाले उनी बाँच्न सफल भइछन्। अहिले उनका न अभिभावक छन् न त उनलाई सम्हाल्ने कोही छन्। छ त केवल पीडा, डर, त्रास र अभाव।

राहत वितरणका क्रममा १४ गते कपनको आकाशेधारा, १६ गते सुनाकोठी, १७ गते हरिसिद्धिलगायतका विभिन्न ठाउँमा पुगेँ। राजधानीका भूकम्पपीडितलाई अलि सहज अवस्था देखेँ। 

कमसेकम खान, बस्न, उपचार नपाएर मर्ने अवस्था छैन। सरसफाइमा ध्यान दिइएको छ। महामारीको खतरा टरेको छ। तर दुर्गम गाउँतिरको अवस्था दयनीय छ। 

खुला आकाश, धूलो, मैलो अनि अभावमा रात दिन काटिरहेका छन्। कुनै व्यक्ति वा संघसंस्थाले आफूलाई समाजसेवी भन्छ, सरकार छ भने सेवा गर्नै पर्ने अवस्था देखिएको छ अहिले।

(मिस मंगोल नेपाल २०१२ की विजेता एवं नायिका सपनासँग अशोकप्यासी राईले गरेको कुराकानीमा आधारित।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment