निगमले सस्ता टिकट बढायो

८ जेठ, काठमाडौ । नेपाल वायु सेवा निगमले भूकम्पपछि देखापरेको बजारको अवस्थालाई मध्यनजर गर्दै सस्तो टिकटको कोटा बढाएको छ।



निगमको कमर्सियल विभाग अन्तर्गतको इन्टरनेसनल फेयर्स, टेरिफ एन्ड प्राइसिङ शाखा प्रमुख शरदचन्द्र शर्माका अनुसार भूकम्पपछि ओरालो लागेको हवाई बजारमा सस्तो टिकटको कोटा दोब्बर पुर्‍याइएको हो।



अन्तर्राष्ट्रिय उडानका लागि एयरबस र बोइङसहित चार वटा जेट विमान भएको निगमले दिल्लीका लागि १५ सय ६ रुपैयाँ तोकेको छ। यो क्षेत्रमा निगमले सातामा चार दिन उडान गर्दै आएको छ। हाल एयरबसबाट समेत उडान भर्दै आएको निगमको यस प्रमोसनल टिकटमा कर समावेश छैन। एकतर्फी टिकटमा बिमा, फ्युल, एयरपोर्ट, पर्यटन, भारत सरकारले लिने तीन वटा शीर्षकका करसहित ८ वटा कर समावेश छैनन्।



एकतर्फी टिकटमा यी करको मूल्य मात्रै प्रतिटिकट यात्रुले ६ हजार ८ सय ९३ रुपैयाँ थप तिर्नुपर्छ भने करसहित टिकटको कुल दर ८ हजार ३ सय ९० पर्न जान्छ। काठमाडौं, दिल्ली दुईतर्फी सबैभन्दा सस्तो टिकटको मूल्य १५ हजार ५ सय ९४ तोकिएको छ।



यो रुटमा निगमले बिक्री गर्ने सबैभन्दा महँगो टिकटको मूल्य २१ हजार ४ सय १० हो भने दुईतर्फी टिकटको मूल्य ४१ हजार ६ सय १६ हो। इकोनोमी श्रेणीमा सस्तोदेखि महँगो टिकटको बीचमा १० वटा श्रेणीका टिकट छन्। अफ सिजनमा निजी विमानले दिल्लीको टिकट ४५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्।



त्यसैगरी लेवर रुटमा चिनिने र नेपालबाट सर्वाधिक कामदार जाने मलेसियाका लागि निगमले २५ हजार ४ सय ६८ रुपैयाँको एकतर्फी टिकट राखेको छ। यसको अवधि आगामी जुन महिनासम्मका लागि कायम गरिएको छ। सामान्य अवस्थामा यस रुटमा निगमले करसहित २८ हजार रुपैयाँ लिन्छ। मलेसिया सरकारले कामदारको भिसा खुलाउँदा यस रुटको हवाई भाडा ३० हजारसम्म पुगेको छ भने भिसा बन्द गरेको बेला निजी विमानहरूले ९ हजार रुपैयाँसम्ममा यात्रु उडाएका छन्।



यसैबीच नेपालीहरूको गन्तव्य बन्दै गएको पर्यटकीय सहर बैंककका लागि निगमले दुई टिकट किन्दा एउटा सित्तैमा दिने अफर ल्याएको छ। भूकम्पका कारण नेपाल आउने पर्यटकको संख्यामा असर परेपछि निजी विमानहरूबीच ‘फेयर–वार’ चल्न थालेको छ। यसैक्रममा निगमले ३३ हजार ७ सय ६२ रुपैयाँमा दुइटा टिकट दिँदै एउटा सित्तैमा दिन थालेको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले बताए। उनका अनुसार परिवारसहित बैंकक घुम्न जाने प्रवृत्ति बढेकाले यो अफर लागू गरिएको हो। यो रुटमा सामान्य अवस्थामा एकतर्फी भाडादर प्रतियात्रु २० हजार १ सय ११ हुन्छ। निगमले सस्तो दरमा तीन वटा श्रेणीका टिकट सार्वजनिक गरेको छ। हङकङमा एकतर्फी करसहित ३६ हजार ४ सय ४७ रुपैयाँ लिँदै आएको निगमले अब ३३ हजार ७ सय ५९ मा टिकट दिने भएको छ। यस रुटमा चार श्रेणीका टिकट छन्। त्यसैगरी दोहा रुटको टिकट दरलाई भने चलाइएको छैन।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment