खान नपाएर माटो कोपर्न थाले पीडित

dhading


५ जेठ, धादिङ । ‘भूकम्पले गर्दा गाउँका सबै घर भत्किए । खानेकुरा सवै पुरियो । अलिअलि सद्धे भएका घरमा गएर अन्नपात निकाल्न पनि माथिबाट लगातार ढुङगा झरिरहेको थियो । भूकम्प भएको चौथो दिनसम्म पनि कहि कतैबाट सम्पर्क हुन नसक्दा सबैजना खोला माथिको खुल्ला चौरमा जम्मा भएर बस्यौ । खानेकुरा खान नपाएर बच्चाहरु भुइँको माटो समेत कोपर्न थाले । जात्रा भयो, आपत पर्न थाल्यो ।’


झट्ट सुन्दा यो भनाइ जो–कोहीलाई अपत्यारिलो लाग्न सक्छ तर यो अपत्यारिलो बास्तविकता हो लापा तिङचेत कि ताडचोम तामाङको । गत बैशाख १२ गते ताडचोम तामाङ घरमा नै ६ जनाको परिवारलाइ खाना खुवाउने सुरसारमा थिइन् तर एकाएक जमिन हल्लिन थाल्यो र ढुंगामाटोले बनाएका घरबाट ढुङगाहरु झर्न थाले ।

हतारहतारमा बालबच्चा टिपेर बाहिर निक्लन मात्रै के भ्याएका थिए, गाउँका सवै घरहरु भुइँमा ढल्न थाले । जमिन चिराचिरा पर्न थाल्यो । गाउँ माथिको टाकुनी डाँडावाट ठुलाठुला ढुङगाहरु बर्षन थाले । अन्योलका बीच बारीको ठुलो पाटामा गाउँभरिका ५७ घरधुरीको मानिस एकै ठाउँमा जम्मा भए ।

अहिले त्यो गाउँ छोडर सदरमुकाम आइपुगेकी ताडचोमलाइ यसरी बाचिएला भन्ने कल्पना नै थिएन । भुकम्पका कारण गाउभरिका मानिसहरु पहिरोको जोखिम भएपछि गाउँ नै छोडेर सदरमुकाम आएका छन्।

भूकम्पपछि भागदौड गर्ने क्रममा नै माथिबाट खसेको पहिरोले पुरेर ४ जनाको मृत्यु भयो भने २२ जना घाइते भए । तिङचेत कै टेक बहादुर तामाङ भन्छन, ‘घर भत्किएर र घरले पुरिएर कोही मरेका थिएनन, डरले यताउता गर्ने क्रममा चार जनालाइ पहिराले पुर्‍यो ।’


लापाको यो सुन्दर बस्ती अहिले पुरै सदरमुकाम सरेको छ । गाउँभरिमा रहेका ५७ घर धुरीमध्ये ५१ घर धुरी अहिले नीलकण्ठ नगरपालिकाको वडा नं १२ धन्सारबेशीमा त्रिपालको घर बनाएर बसिरहेका छन । गाउँमा अहिले अशक्त र गाउँ छाड्न नसक्ने बृद्धबृद्धाहरुमात्रै छन्।

गाउकै बृद्ध सोम बहादुरलाइ उदृत गर्दै टेक बहादुर भन्छन, ‘ती ६ घर परिवारलाइ पनि सदरमुकाम जाउँ भनेका थियौ तर उनीहरु हिड्न पनि सक्दैनन । बुढा पनि भइसकेका छन । अव जतिजेन्ल बाच्न सकिन्छ यही बाच्ने भनेर उही बसे ।’

१२ गतेको भुकम्प पछि तिङचेत गाउँमा पहिरो खसेको खवर आएपनि तीनदिनसम्म तिङचेत गाउँ सदरमुकामको सम्पर्क भन्दा बाहिर रह्यो जव हेलिकप्टर चौथो दिन गाउँमा आकाशमा देखियो उनीहरुमा बाच्ने आशा पलायो र हेलिकप्टरले झारिदिएका खानेकुरा खाएर बसे ।

अहिले विस्थापित भएर बसेको शिविरमा खाना पकाउदै गरेकी रानी तामाङले दुखेको पोखिन, ‘गाउँमा पुरै धाँजा फाटेको छ, जताततै जमिन चर्किएको छ । गाउँभन्दा तलको ठाउँ कुलिचेत पनि लेते लागेर बग्न थालेको छ । पटक–पटकको भुकम्पको धक्काको कारण गाउँ माथिको टाकुनी पहाडबाट ठुला–ठुला ढुङगा र पहिरो झरिरहेकाले अव गाउँ बस्न नसक्ने भएपछि सवैजना गाउँ छोडेर हिडेका हौ ।’

अहिले सदरमुकाममा रहेको खाली जग्गामा त्रिपाल टाँगेर बसे पनि कमाएर ल्याउने श्रीमान कुङगेल तामाङ भुकम्पमा वितेपछि २ छोराछोरी हुर्काउने र उनीहरुलाइ कसरी पाल्ने भनेर छिन छिनमा भक्कानिन्छिन रानी तामाङ । उनले रुदै भनिन, ‘अव बस्ने र खाने ठाउँको कुनै ठेगान छैन । जुन दिनसम्म बाँचिएला बाँचिएला भनेर छोराछोरी च्यापेर गाउँ छोडे ।’

भुकम्पका गाउँभरिका ५१ घरधुरीका करिव १५० जनाभन्दा बढी अहिले सदरमुकाम नजिकैको खुल्ला बारीको पाटामा केही थान त्रिपाल गाडेर सामुहिक रुपमा बसिरहेका छन । राहतस्वरुप पाएको चामलले छाक टारिरहेपनि खानेपानीको सुविधा नभएको ठाउमा बसेकाले थोपाल खोलाको पानी खानुपर्ने बाध्यता रहेको छ ।

गाउँ छोडेर हिड्दा बचेका गाइबस्तुहरु फुकाएर छोडिदिएको र जिउदो कुखुरासमेत उनीहरुले बोकेर ल्याएको घर भत्किएर घाइते भएका एनोस तामाङले बताए । हात खुट्टा दुवै भाचिएका उनलाइ भुकम्पको सातौ दिन हेकिप्टरबाट जिल्ला अस्प्ताल धादिङ ल्याइएको थियो ।

गाउँ नै पुरै विस्थापित भएर आएपछि १५ गतेबाट संचालन गर्ने भनिएको त्यहाँ रहेको तिङला निमावि पनि बन्द भएको छ । अहिले ८ कक्षामा पढ्ने सुरसारमा रहेकी रेश्मा तामाङले भक्कानिदै भनिन, ‘समयले यस्तो परिस्थिति बनाइदियो । घरमा भएका केही सामान पनि झिक्न सकिएन । अहिले यहाँ आएर त्रिपालमा बस्नु परेको छ । पढ्न जान त मन लागेको छ नि तर के गर्नु यो अवस्थामा कसरी कहाँ गएर पढ्नु ।’

तिङचेत मात्र होइन भुकम्पका कारण उत्तरी धादिका विकट गाउँ विकास समितिका १२ बटा गाउँ नै पहिरोको जोखिमका कारण अन्यत्रै सानुपर्ने भएको छ । लापा गाविसको खादिङ, कपुरगाउँ, तीर, नेवेर, र लाचेत गाउँ, तिप्लिङ गा वि स को लिङचो, सेर्तुङ गाविसको बोराङ, झार्लाङ गा वि स को चाक्थली, किव र तान्द्राङ गाउ नै पहिरोको जोखिमा परेकाले अन्यत्रै सार्नुपर्ने जिल्ला दैवि प्रकोप उद्धार समितिले निष्कर्ष निकालेको छ।

अहिले त्यहा रहेका स्थानियहरुलाइ हेलिकप्टरबाट खाद्यान्न सामाग्रीहरु पुर्‍याइरहेको भएपनि अव पुर्नवासको लागि त्यो स्थानमा सम्भव नहुने देखिएपछि अव त्यस क्षेत्रका स्थानियहरुलाइ अन्यत्र सार्नको लागि पहल थालिने जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment