धादिङको बसेरीबासी भन्छन्- मर्नेको संख्या हेरेर राहत दिइयो, उठीबास लागेको कसैले देखेन (भिडियो सहित)

बसेरी (धादिङ), वैशाख २२
‘कहिलेकाहीँ त हामी नमरेर पो दुःख पाइएछ कि भन्ने लाग्छ हजुर, भूकम्पले मरेको भए कम्तिमा यसरी भोकले पटक-पटक मर्नुपर्ने त थिएन,’ धादिङको बसेरी गाउँकी सकमाया तामाङले आफ्नो गाउँलाई कसैले नहेरेको भन्दै यसरी दुःख बिसाइन् ।



‘दुईचार दिन त हामी पनि बेहोसै भयौं, तर अब हाम्रो पनि होस खुल्यो र सरकारसँग रिस पनि उठ्न थाल्यो’ सकमाया भन्छिन्- सरकारले मान्छे धेरै मर्ने गाउँलाई मात्रै राहत दियो, हामीकहाँ ज्यानको क्षति कम भएकाले सरकारले हेरेन ।’

हेलिकोप्टरको आवाज आउँदासमेत आफ्नै लागि राहत लिएर आएको हो कि भन्दै आकाशतिर हेर्ने बसेरीका स्थानीयबासीहरु निराश बनेका छन् ।

तर, सोमबार भने उनीहरु निराश हुनुपरेन । गैरआवासीय नेपाली संघको टोली राहत बोकेर पहिलोपटक बसेरी पुगेपछि स्थानीयबासी केही खुसी देखिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र महासचिव कुमार पन्तसहितको टोलीले सोमबार बसेरी पुगेर गाविस सचिव, स्थानीय समाजसेवी र विद्यालयका शिक्षकहरुको रोहवरमा राहत वितरण गर्‍यो ।

कुल ८ सय ६७ घरधुरी रहेको बसेरीमा गैरआवासीय नेपाली संघले सबै घरलाई एक-एकवटा त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ लगायतका सामाग्री प्रदान गरेको छ ।

गोरखाको सीमा क्षेत्रमा पर्ने यो विकट गाउँमा भूकम्पबाट लगभग सबैजसो घर भत्किएका छन् । ७ जनाले भूकम्पमा परी ज्यान गुमाएका छन् ।

तर, ज्यान गुमाउनेको संख्या धेरै नभएका कारण ९ दिनसम्म कतैबाट पनि सहयोग पाउन नसकेको स्थानीयबासीले गुनासो गरे ।

भनसुन गर्ने, विदेशी तथा एनजीओहरुसँग सम्बन्ध हुने र टाठाबाठाहरुले मात्रै राहत पाएको उनीहरुको गुनासो थियो ।

वडा नम्बर ६ का बासिन्दा नारायणबहादुर कार्की भन्छन्-‘मानिसमात्र ७ जना मरेका हुन्, तर ९ वटा वडामा ९ वटा पनि सद्दे घर भेटन सकिन्न, हामी सहनै नसक्ने मारमा पर्‍यौं ।’

सबै घरमा शौचालय बनाएर खुला दिसामुक्त क्षेत्र बनाएका गाउँलेहरु यतिबेला भूकम्पका कारण हैजा फैलने हो कि भन्ने पीरमा छन् । खेतका गह्राहरु र सडकमै अस्थायी शिविर बनाएका उनीहरु फेरि कसरी घर बनाउने होला भन्ने चिन्तामा छन् ।

वडा नम्बर ९ का बासिन्दा नन्दबहादुर घले भन्छन्-‘हाम्रो पहिलो प्राथमिकता बास हो, त्यसपछि गास हो र अनि ओढ्ने ओछ्याउने हो । कम्तिमा बासचाहिँ सरकारले बनाइदेओस् भन्ने हाम्रो माग हो ।’

राहत वितरणका लागि पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बाहिरबाट प्राप्त सहयोग आपसमा मिलेर उपभोग गर्न र थप राहतका लागि अग्रसर हुन सुझाव दिए ।

‘तपाईहरु यस्तो दुःखमा परेको देख्न सुन्न नसकेरै हामी आफ्नो खल्तीबाट पैसा झिकेर तपाईका लागि खाना र नाना बाँड्न आएका हौं’ उनले भने-‘यस्तो विपत् सबै मिलेर सामना गर्नुपर्छ, तपाईंहरु पनि स्थानीय तहमा मिलेर प्राप्त सहयोगको सदुपयोग गर्नुहोला ।’


Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment