त्रिपाल र कम्बल लिन १४ घण्टा

७ जेठ, डाँडापारी, बुढाखानी (काभ्रे) । राहत बाँडिँदै छ भन्ने सुनेपछि बनखुचौर ७ का ७३ वर्षीय जोगमान लामा लौरो टेक्दै ७ घण्टा हिँडेर बुढाखानीको सार्दडाँडा पुगे। मंगलबार बिहान ४ बजे नै उठेर हिँडेका उनी ११ बजे पुगेका थिए। तर, राहत लिएर सेभ द चिल्ड्रेन र नाङ्साल एसोसिएसनको टोली साँझ ६ बजे मात्रै उक्त स्थानमा पुग्यो। राहत झारेर बाँड्दा ७ बज्यो। साढे ७ बजे हातमा त्रिपाल, कम्बल, झुल, ग्यालेनलगायतका सामग्री परे लगत्तै उनी फेरि घर जान नै हतारिए। ‘बीचमा बस्ने ठाउँ छैन, जंगलको बाटो हिंड्दै आजै गाउँ पुग्नुपर्छ,’ उनले भने, ‘गाडीको असुविधा हुँदा राहत लिन पनि यत्रो दु:ख पाउनुपर्‍यो।’ जोगमान घरमा नै कन्दमुल र खोले खाएर बसेका थिए। ‘टाउको अड्याउने त्रिपाल थिएन,’ उनले भने, ‘यो सहयोग पनि हाम्रा लागि ठूलो कुरा हो।’


६ घण्टा हिंडेर ७ घण्टा राहत कुरेका ६१ वर्षीय कमल नेपालीको पीडा पनि दयनीय छ। ७ घण्टा राहत पर्खेर बस्दा उनले कसैले दयाले दिएको १ मुठी चिउरा त पाए तर पानी नपाउँदा ठूलो सास्ती भोगे। ‘राहत पाइन्छ भनेर सखारै ६ घण्टाको बाटो हिंडेर आएँ,’ उनले भने, ‘दिनभरि भोको पेटमा बस्नुपर्‍यो, राहत पाएपछि भने खुसी नै लाग्यो।’ राहत लिन वृद्ध, महिला, बालबालिका आइपुगेका थिए। बिहान सबेरै आएका उनीहरूले राति अबेरसम्म (११ बजे) सम्म बसेर राहत कुरेर लिएर गए। राहत लिन बनखु गाविसका ७ सय ५४ घरधुरी छिमेकी गाविसमा जम्मा भएका थिए। यातायातको सुविधा नभएका कारण सहयोगी संस्थाले सोही ठाउँसम्म मात्रै राहत लिएर गाउँलेलाई डाकेका थिए। विभिन्न ८ स्थानबाट बाटो लाने प्रयास गरिए पनि उक्त क्षेत्र अझै सडक सञ्जालमा जोडिन सकेको छैन। यहाँका अधिकाशंलाई ६ महिनाभन्दा खान पुग्दैन। बाँकी समय बनेपा, धुलिखेल, पनौती लगायतका क्षेत्रमा मजदुरीका लागि जाने गरेका छन्।


गाविस सचिव रेवतीरमण ज्ञवालीका अनुसार वनखुका ७ सय ५४ घरमा क्षति भएका छन्। भोगोलिक रूपमा विकट ती क्षेत्रमा सरकारी राहतसमेत निकै न्यून पुगेको छ। जिल्लाको तथ्यांकअनुसार उक्त गाविसमा ६ हजार केजी चामल, ९० किलो चिउरा, १ सय कम्बल, १० कार्टुन चिउरा र १० कार्टुन बिस्कुट मात्रै पुगेको छ। सेभ द चिल्ड्रेन र नाङ्सालले उक्त गाविसका सबै घरधुरीलाई कम्बल, त्रिपाल, झुल, ग्यालेनलगायत सामग्री वितरण गरेको थियो।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment