शव निकाल्न नसक्दा सिँगटी बजार दुर्गन्धित

७ जेठ, सिँगटी (दोलखा) । सरकारले अत्याधुनिक उपकरण पठाउन नसक्दा जिल्लाको उत्तरी गाविस सिँगटीमा पुरिएका शव अझै निकाल्न सकिएको छैन। शव निकाल्न नसकेपछि बजारमा दुर्गन्ध फैलिएको छ।


सिँगटीमा अहिलेसम्म ३८ जनाको शव फेला परेका छन्। धेरैजना पहिरोले पुरिएको भए पनि अझै निकाल्न सकिएको छैन।सिँगटीमा पुरिएका शव निकाल्न एक अमेरिकी विज्ञ दोलखा आएका छन्।


प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले गृहमन्त्रालयसँगको समन्वयमा दोलखा आएका ती विज्ञ सिँगटी गइसकेकाले उद्धार र खोजमा सहज हुने बताए। लामिछानेका अनुसार ती विज्ञले सेना र प्रहरीसँग मिलेर काम गर्ने छन्।


केही दिनअघि खोज तथा उद्धारका लागि जिल्लामा आएको मेक्सिकोको टोलीलाई नेपाली सेनाले फिर्ता पठाएको थियो। नाकले सुँघेर शव फेला पार्न सक्ने त्यो टोलीलाई नेपाली सेनाले आफूसँग समन्वय नगरेको भन्दै फिर्ता जान दबाब दिएको स्रोतको दाबी छ। त्यो टोलीले चरीकोटको प्याराडाइज होटलबाट एक र सिँगटीबाट एकजनाको शव निकालेको थियो।


शव कुहिएर दुर्गन्ध फैलिँदा महामारी निम्तिन सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन्। सिँगटीका नवराज पाठकले सरकारले तत्काल शव ननिकाल्दा दुर्गन्ध फैलिनुका साथै कुकुर र स्यालले शवको टुक्रा बोकेर प्रदूषण फैलाएको बताए।


पछिल्लोपटक वैशाख २९ गतेको भूकम्पमा परी चिलंखा, खोपाचागुलगायत गाविसका बासिन्दा सिँगटी आएका बेला पहिरोमा पुरिएको अनुमान गरिएको छ। पहिरो गएको आठ दिन बितिसक्दा पनि सरकारले केही गर्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।


चिलंखाका खड्गबहादुर मगरले आफ्ना भतिजाको सास नभए पनि लास तत्काल दिनुपर्ने माग गरेका छन्। राहत लिन आएका चिलंखा गाविसका ६, ८ र ९ वडाका मानिस पहिरोमा परेको आशंका छ।


बेपत्ताहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै आफन्तहरूले इलाका प्रहरीचौकी सिँगटीमा खोजी गरिदिन दिनहुँजसो निवेदन लिएर आउने गरेका छन्।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment