हेलिकोप्टरले भिडियो खिच्यो, राहत झारेन


गोरखा: गोरखा–८ सिर्दी गाउँकी ६० वर्षीया अम्खौरी रानामगरको आँखा केही दिनदेखि आकाशतिर मात्रै सोझिने गरेको छन्।

ठूलो आवाज अनि हावाको बेगसहित घरीघरी झुल्‍किने हेलिकोप्टर आफ्नै गाउँमा उत्रन्‍छ कि भनेर उनी आकाशतिर मात्रै टाेलाउँछिन्। हेलिकोप्टरले खाने र ओढ्ने सरसामान झार्छ भन्ने सुनेकी अम्खौरी अब भने निरास छिन्। किनकी उनीमाथि घुमिरहने हेलिकोप्टरले तस्बिर तथा भिडियो मात्र खिचिरहेको छ। 

फोटो र भिडियो खिचेर हेलिकोप्टर फर्केको थाह पाएपछि  सिर्दी तथा आसपासका भूकम्प प्रभावित आक्रोशित भएका छन्। चुम्चेत गाविसका सचिव केशवराज पौडेलले भारतीय सेनाको हेलिकोप्टरले बिरामीको उद्धार र आकाशबाट भिडियो मात्रै खिचेर लगेको बताए।


भूकम्पले घर भत्काएपछि गाँस र बाँस दुबै गुमेको अम्खौरीको आस त्रिपाल र केही खानेकुरा पाइन्छ कि भन्नेमा मात्र सिमित छ। घर भत्किएपछि बारीमा चुहिने त्रिपालको जगेडा गरेर दिन र रात बिताउदै आएकी अम्खौरी भूकम्पले निकै सास्ती दिएको बताउँछिन् । 

‘न खानेकुरा छ, न ओढने त्रिपालनै गतिलो छ । भएका कुरा सबै पुरिए । अब कसरी बस्नु ’ अम्खौरीले भनिन् ‘हेलिकप्टरले दिन्छ सबै कुरा भन्ने सुनेको छु, तर पाएको छैन् । न हेलीकप्टर आफूतिर आएर उत्रन्छ न त हेलीकप्टर भएतिर आफू जादा केही पाउछु ।’

घर भत्किएको पाचँ दिन बितिसक्दा पनि कसैले आएर नहेरेको उनको गुनासो छ । पानी पर्दा नभिजाउने त्रिपाल मात्रै भएपनि केही राहत हुनेको अम्खौरीको भनाई छ । ‘पानी पर्दा कता दौडिने, बस्ने ठाउ कतै छैन् । आफ्नो सबै भत्किएको छ । अरुको चर्किएर भत्किन मात्रै रहेको घरमा बसौ भने पुरिएला भन्ने डर छ ।

कुप्रो परेर हिड्न समेत समस्या हुने गरेका पति मात्र नभई छोराहरु काम गर्न घर बाहिर रहेकाले बुहारी र नातिनातिनी समेत अम्खौरीले सम्हाल्दै आएकी छिन् । पानी नपर्दा त त्रिपाल मुनी जसोतसो बस्दै आएको उनको परिवार पानी परेपछि भने भागाभाग गर्दै छिमेकीको भत्किन लागेको घरमा ओत लाग्न पुग्ने गरेका छन् ।

‘पानी परेपछि साना बच्चाहरु आफै त्रिपाल मुनिबाट निस्किएर भाग्छन् ’ अम्खौरीले भनिन् ‘आफ्नो मात्र होईन गाउभरीकै समस्या उस्तै छ । खुल्ला आकाशमुनी बस्दै आएका सबैले मेरो जस्तै समस्या भोगिरहेका छन् ।’

सिर्दिगाउमा ३५ भन्दा बढी घर छन् । केहीको घर पूर्णरुपमा भत्किएको छ भने केहीको घर बस्नै नसक्ने गरी चर्किएको छ । खेतबारी र घाँसदाउरा गर्न गएको बेलामा भूकम्प आएकाले मानविय क्षति भने नभएको स्थानिय विनिता थापाले बताईन् । ज्यान जोगिएपनी भूकम्प आएको दिनदेखि भने निकै सास्ती भोग्नुपरेको विनिता बताउछिन् ।
  
सिर्दिगाउकै सम्झना सिरमलले राहतको बाटो हेरेर बस्नुबाहेक अरु केही बिकल्प नभएको बताईन् । सिर्दिगाउका स्थानियले दुई दिनदेखि बस्ती नजिकै रहेको फ्युरेस्वारा धाईरहेका छन् । फ्युरेस्वाराबाट नेपाली सेनाले हेलीकोप्टरबाट राहत सामाग्री दुर्गम गाउमा पुर्‍याइरहेको छ ।

‘त्रिपाल र खानेकुरा हेलिकोप्टरबाट अन्त गईरहेको छ, तर हामीले पाएका छैनौ ’ फ्युरेस्वारामा राहत पाईने आशमा आएकी दिलकुमारी रानाले भनिन् ‘राहत बोकेर न हेलिकोप्टर हाम्रो गाउमा आउछ, न आफै आउदा समेत पाईन्छ । दुई दिन देखि बिहानै आएर बेलुका रित्तो हात फर्किरहेका छौ ।’

अरुलाई जस्तै आफूहरुलाई पनि त्रिपाल र केही खानेकुराको ब्यवस्था गरिदिए निकै सहज हुने स्थानियको भनाई छ । फ्युरेस्वारामै आएका चुम्चेत गाविसका सचिव केशवराज पौडेलले पनि दुर्गमा गाउमा स्थानियको अवस्था निकै बिजोग रहेको बताए ।

चुम्चेतसंगै लोमा, सामा, बिहि, छेकमटार गाविसका अधिकांश घर भत्किएका पौडेको भनाई छ । घाईतेहरुको समेत उद्धार हुन नसकेको पौडेलले बताए ।

‘दुई दिनदेखि राहत र घाईतेको उद्धार गर्नका लागि यहा आएर बसेको छु ’ पौडेलले भने ‘तर केही पाइएको छैन् । दुर्गमा गाउमा अधिकांश सर्वसाधारणको अवस्था उस्तै छ । नेपाली सेनाले सकेसम्म प्रयास त गरिरहेको छ, तर धेरै ठाउमा क्षति भएकाले कठिन भईरहेको छ  । ’

भूकम्प पिडितलाई खण्डेवालको सहयोग

भूकम्पबाट बिस्थापित भएकाहरुका लागि वीरगन्जका उद्योगी तथा ब्यापारी पशुपती खण्डेवाल लगायतले २० लाख भन्दा बढीको राहत सामाग्री गोरखा पुर्‍याएका छन् ।

खण्डेवालको पहलमा एक हजार थान त्रिपाल, एक हजार थान कम्बल लगायत चिउरा, चाउचाउ, पानी, औषधी लगायत चार ट्रक सामान गोरखाको मान्बो गाविसका सर्वसाधारणलाई हस्तान्तरण गरिएको हो ।
खण्डेवालसहित रौतहट उद्योग वाणिज्य संघ, मारवाडी सेवा समिति लगायत बिभिन्न संस्थाले सामान गोरखा पुर्‍याएका थिए । भूकम्पबाट बिस्थापितहरुलाई तत्कालका लागि बस्न र खानको सुविधा होस भन्ने उदेश्यले सामान हस्तान्तरण गरिएको खण्डेवालले बताए । 



Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment